काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह ले महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणलाई व्यवहारमै कार्यान्वयन गर्न सरकार दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनुभएको छ । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको र राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वसँगै अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले बालविवाह, छाउपडी, दाइजो, तिलकलगायतका सामाजिक कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थामात्र पर्याप्त नहुने भन्दै सामाजिक चेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभएको छ । महिला अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्य, समुदाय तथा सरोकारवाला निकायबीच सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिँदै प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र विभेद अन्त्य गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि सन्देशमार्फत स्पष्ट पार्नुभएको छ । यस वर्ष आठौँ राष्ट्रिय महिला अधिकार दिवस ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।






