देशभर थप सुरुङमार्ग निर्माणको तयारी, नयाँ परियोजनाको अध्ययन अघि बढाइने

काठमाडौं- मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम चरणमा पुगेका बेला सरकारले थप स्थानमा सुरुङमार्ग निर्माणको योजना अगाडि बढाएको छ। सरकारका अनुसार नागढुङ्गा-नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ भने सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी भइरहेको छ। त्यस्तै सिद्धबाबा सुरुङमार्ग आगामी असोज महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यसैबीच काठमाडौं-तराई/मधेस द्रुतमार्ग अन्तर्गत छ वटा सुरुङमार्ग निर्माण कार्य जारी छ। लेनडाँडा, धेद्रे, महादेवटार, देवीचौर, सिसौटार र चन्द्रामभीर क्षेत्रमा सुरुङ निर्माण भइरहेको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले नयाँ सुरुङमार्ग परियोजनालाई पनि प्राथमिकता दिएको छ। बजेटमा टोखा-छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समावेश गरिएको छ। चिनियाँ पक्षले यस परियोजनाको प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ।

त्यस्तै कर्णाली प्रदेशको आवागमन सहज बनाउन जाजरकोटको मुलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ। सरकारले खुर्कोट-चियाबारी, थानकोट-चित्लाङ, मझिमटार-शक्तिखोर तथा चिसापानी-xबबई सुरुङमार्ग निर्माणसम्बन्धी अध्ययनलाई पनि आगामी वर्षको कार्यक्रमभित्र समेटेको छ। सडक विभागका अनुसार देशभर सम्भाव्यता देखिएका १७ वटा सुरुङमार्ग पहिचान गरी तिनको भौगर्भिक अध्ययन अगाडि बढाइएको छ।

नेपालमा सुरुङमार्ग निर्माणको इतिहास निकै पुरानो छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणा को शासनकालमा मकवानपुरको चुरे क्षेत्रमा ७६१ मिटर लामो सुरुङमार्ग निर्माण गरिएको इतिहास रहेको छ। सरकारले सुरुङमार्ग विस्तारलाई यातायात सहजता, यात्रा समय घटाउने, सडक सुरक्षामा सुधार ल्याउने तथा दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने दीर्घकालीन रणनीतिका रूपमा अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्