निजी अस्पतालमा आजदेखि स्वास्थ्य बीमाका नियमित सेवा बन्द

काठमाडौं । सरकारको पछिल्लो निर्णयअनुसार आजदेखि निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेक स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएका नियमित सेवाहरू बन्द भएका छन् ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक सङ्कटमा परेको जनाउँदै जेठ ११ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गरेको हो । बोर्डले जारी गरेको सूचनामा अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका ओपीडी, परीक्षण, औषधि तथा अन्य नियमित स्वास्थ्य बीमा सेवा बन्द रहने उल्लेख गरिएको छ ।

यस निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौँ निजी अस्पताल तथा मेडिकल कलेजबाट सेवा लिँदै आएका लाखौँ बीमित नागरिक प्रभावित भएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई १५ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

निजी अस्पतालहरूले लामो समयदेखि स्वास्थ्य बीमाबापतको दाबी रकम भुक्तानी नभएको, भुक्तानी प्रक्रिया जटिल बनेको तथा बक्यौता बढ्दै गएको गुनासो गर्दै आएका थिए । यद्यपि सेवाग्राहीहरूले भने निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने निर्णयले आफूहरू प्रत्यक्ष रूपमा मर्कामा परेको भन्दै निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

यसैबीच स्वास्थ्य बीमा बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापति ले आजदेखि स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ अन्तर्गत परिमार्जित नयाँ दररेट पनि लागू भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशाला परीक्षण शुल्क लागू गर्न निर्देशन दिइएको छ । स्वास्थ्य बीमा कार्यक्रमको दीर्घकालीन स्थायित्व र बक्यौता व्यवस्थापनका विषयमा सरकार र सेवा प्रदायक संस्थाबीच थप छलफल आवश्यक देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्