वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित शान्ति सम्झौता गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय आफूले नै गर्ने बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने प्रतिबद्धता जनाउनुपर्ने, साथै अन्तर्राष्ट्रिय इन्धन तथा व्यापारिक ढुवानीका लागि महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुला राख्न सहमत हुनुपर्ने शर्त अघि सार्नुभएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिका र इरानबीचको सम्भावित सम्झौता अन्ततः वासिङ्टनले राख्ने मागहरूको प्रकृतिमा निर्भर रहने बताउनुभएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अराघचीले अमेरिकाले आफ्ना ‘अत्यधिक माग’ त्यागेमा मात्रै मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्यका लागि सहमति सम्भव हुने धारणा व्यक्त गर्नुभएको हो।
इरानी विदेशमन्त्री अराघचीले आफ्ना ओमानी समकक्षीसँगको संवादमा पनि अमेरिका लचक बन्न सकेमा मात्र वार्ताले सार्थक निष्कर्ष निकाल्न सक्ने बताउनुभएको जनाइएको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच सम्झौता हुन सक्ने सम्भावना निकै नजिक पुगेको दाबी गर्नुभएको थियो। तर उहाँले शान्ति सम्झौता निष्कर्षमा पुग्नुअघि दुवै पक्षले अझै धेरै जटिल र संवेदनशील विषयहरूमा सहमति जुटाउनुपर्ने अवस्था रहेको पनि स्वीकार गर्नुभएको छ।
अमेरिका र इरानबीच जारी कूटनीतिक प्रयासलाई मध्यपूर्व क्षेत्रको सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय स्थायित्वसँग जोडेर हेरिएको छ।






