शेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर वृद्धि

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक विधेयकमार्फत शेयर र घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार अब सूचीकृत कम्पनीका धितोपत्र (शेयर) बिक्रीबाट प्राप्त हुने लाभमा लाग्ने कर नै अन्तिम कर हुने व्यवस्था कायम राख्दै करको दर वृद्धि गरिएको छ।

नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय स्वामित्वमा राखेको शेयर बिक्री गर्दा प्राप्त नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। त्यस्तै, एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्दा १० प्रतिशत कर तिर्नुपर्नेछ। यसअघि भने ३६५ दिनभन्दा बढी समय स्वामित्वमा रहेको शेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्ने व्यवस्था थियो।

यस्तै, घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर पनि बढाइएको छ। हालसम्म पाँच वर्ष वा सोभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा ५ प्रतिशत तथा पाँच वर्षभन्दा कम अवधिको स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्दै आएको थियो। नयाँ व्यवस्थाअनुसार अब पाँच वर्षभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा ७.५ प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको घरजग्गा बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ।

यद्यपि, सरकारले विकास निर्माण आयोजनाका लागि जग्गा अधिग्रहण गर्दा घरजग्गा रजिस्ट्रेसनका लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा भने पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको जनाएको छ। नयाँ व्यवस्थाले शेयर बजार तथा घरजग्गा कारोबारबाट प्राप्त हुने नाफामा करको दायरा र योगदान बढाउने सरकारको उद्देश्य रहेको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्