काठमाडौं – आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते २४० वर्षे निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । समारोहअघि नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको छ । बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्री, उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
यस वर्षको समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस पटक प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने राष्ट्रपतिले मात्रै गर्नुहुनेछ । वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । त्यसपछि सुरु भएको जनआन्दोलनले देशभर व्यापक समर्थन पाएपछि राजसंस्था कमजोर बन्दै गएको थियो ।
वि.सं. २०६३ जेठ ४ गते पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसपछि संविधानसभा निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रूपमा गणतन्त्र घोषणा गरेको हो ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको वर्तमान संविधान जारी गरिएको थियो । संविधान कार्यान्वयनसँगै संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन सम्पन्न भई अहिले तीनै तहका सरकार सञ्चालनमा रहेका छन् । गणतन्त्र स्थापना पछि डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति बन्नुभएको थियो । त्यसपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति तथा नेपालको पहिलो महिला राष्ट्रप्रमुख बन्नुभयो । हाल रामचन्द्र पौडेल राष्ट्रपतिका रूपमा कार्यरत हुनुहुन्छ ।







