काठमाडौं – नेपाली मिक्स मार्सल आर्ट (एमएमए) फाइटर रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् । मकाउस्थित ग्यालेक्सी एरेनामा हिजो भएको क्वाटरफाइनल प्रतिस्पर्धामा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउटमार्फत पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
यससँगै ढाँट ‘रोड टु युएफसी’ प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।प्रतिस्प र्धाको सुरुदेखि नै आक्रामक देखिएका ढाँटले दोस्रो राउन्डको अन्त्यतिर लगातार स्ट्राइक प्रहार गरेका थिए । त्यसपछि रेफ्रीले खेल रोकेका थिए । प्रतियोगिताको आधिकारिक नतिजाअनुसार उनले ‘ग्राउन्ड एन्ड पाउन्ड’ मार्फत जित हात पारेका हुन् ।
अब सेमिफाइनलमा ढाँटले अस्ट्रेलियाका कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मर्डोकले क्वाटरफाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए । ‘रोड टु युएफसी’ एसियाली खेलाडीलाई विश्वकै प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) मा प्रवेश गराउने छनोट प्रतियोगिता हो । प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउने व्यवस्था छ ।






