झन्डै दुईतिहाइको रास्वपा नेतृत्वको सरकारको पहिलो बजेट भोलि

काठमाडौं – सरकारले भोलि आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछ । नवयुवा आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरण र झन्डै दुईतिहाइ बहुमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो बजेट भएकाले सर्वसाधारणदेखि निजी क्षेत्रसम्मको चासो उच्च बनेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको वाचापत्रलाई आधार बनाएर बजेट तर्जुमा गर्नुभएको जनाइएको छ । चालु आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा यस पटक २ देखि ३ खर्ब रुपैयाँ बढी आकारको बजेट आउने तयारी रहेको स्रोतले जनाएको छ । सरकारले बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, प्रविधि तथा राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ । रास्वपाले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने तथा ७ वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य अघि सारेको छ ।

स्रोत व्यवस्थापनमा दबाब रहेकाले सामाजिक सुरक्षा भत्ता तत्काल नबढाइने संकेत गरिएको छ । तर निजामती कर्मचारीको पारिश्रमिक वृद्धि, सरकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था तथा प्रशासनिक सुधारका कार्यक्रम बजेटमा समेटिने भएका छन् । त्यस्तै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त बजेट विनियोजन गर्ने तथा कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा अघि बढाइने तयारी गरिएको छ ।

यसैबीच सङ्घीय संसद् सचिवालयले भोलि हुने संयुक्त बैठकको तयारी पूरा गरेको जनाएको छ । बजेट प्रस्तुतिका लागि दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नेछ ।संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्षमा बैठक सञ्चालन गर्ने तयारी भए पनि निर्माणको अन्तिम काम बाँकी रहेकाले यस पटक पनि बहुउद्देश्यीय हलमै बजेट प्रस्तुत गरिनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्