पेसागत आचरणविपरीतका गतिविधि नगर्न सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मीलाई आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले पेसागत आचरणविपरीतका गतिविधि नगर्न सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिलले विज्ञप्ति जारी गर्दै पछिल्लो समय स्वअनुगमनका क्रममा पत्रकारिता आचारसंहिताविपरीतका विभिन्न प्रवृत्ति देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गरेर पनि समाचार सामग्री प्रकाशन नगर्ने तर सामाजिक सञ्जालमार्फत ‘भ्यूअर’ बढाउने उद्देश्यले अपुष्ट र भ्रामक सामग्री प्रसारण गर्ने प्रवृत्ति बढ्दो छ । त्यस्तै, बिनाअनुमति सार्वजनिक निकायमा प्रवेश गर्ने, अमर्यादित व्यवहार प्रस्तुत गर्ने, हप्कीदप्की तथा दुर्व्यवहारजन्य गतिविधि गर्ने कार्यप्रति पनि काउन्सिलले आपत्ति जनाएको छ ।

विद्यालय परिसरभित्र गई अभिभावक, शिक्षक वा संरक्षकको अनुमति बिना बालबालिकासँग अन्तर्वार्ता लिई भिडियो सामग्री सार्वजनिक गर्ने कार्य पनि आचारसंहिताविपरीत भएको काउन्सिलको भनाइ छ । सञ्चारमाध्यममार्फत तथ्यहीन, अपुष्ट तथा भ्रमपूर्ण आरोप लगाएर व्यक्तिको चरित्रहत्या गर्ने, गोपनीयतामा असर पुर्‍याउने र व्यावसायिक साखमा क्षति पुर्‍याउने सामग्री प्रसारण नगर्न काउन्सिलले चेतावनी दिएको छ ।

काउन्सिलले जिम्मेवार र मर्यादित पत्रकारितामार्फत सत्य, तथ्य र विश्वसनीय सूचना सम्प्रेषण गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्