एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ: राष्ट्रपति

काठमाडौं- रामचन्द्र पौडेलले हरेक पर्वले नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै लैजाने बताउनुभएको छ । बकर इदका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न यस पर्वले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले बकर इद पर्वले मातृभूमिप्रतिको आत्मीय सम्बन्ध अझ सुदृढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “मुस्लिम समुदायबाट मनाइने यस पर्वका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर विश्वास, समर्पण र समाजसेवाको भावनालाई आत्मसात् गर्न आवश्यक छ,” राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले यस्ता पर्वहरूले विश्वका विभिन्न स्थानमा रहेका नेपालीबीच धार्मिक तथा सांस्कृतिक विविधताका बाबजुद पनि सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र सहअस्तित्व कायम राख्न मद्दत पुग्ने बताउनुभयो । साथै मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा समेत यस्ता चाडपर्वले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच रामसहायप्रसाद यादवले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने बकर इद पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सुदृढ बनाउने बताउनुभएको छ । बकर इदका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपतिले यस पर्वले सबैलाई आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले विपन्न तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संस्कारलाई प्रवर्द्धन गर्दै सामाजिक न्याय र समानताको भावनालाई बलियो बनाउन बकर इदले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्छ,” उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्