राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल तयार गरेको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले २९ बलमै विस्फोटक ९७ रन बनाए । यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन जोडे भने यशश्वी जैसवालले २९ तथा कप्तान रियान परागले २६ रनको योगदान दिए ।
२४४ रनको कठिन लक्ष्य पछ्याएको हैदरावाद १९ ओभर २ बलमा १९२ रनमै अलआउट भयो । राजस्थानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै हैदरावादलाई दबाबमा राखेका थिए । अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर खेल भोलि बेलुका पौने ८ बजे न्यु चन्द्रिगढमा हुनेछ । पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।







