काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ः३० बजे सामूहिक भेट तथा संवाद कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सहकार्यका विभिन्न विषयमा छलफल हुने छ ।
सरकारले कूटनीतिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै विभिन्न देशका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको छ । यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो ।






