चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान

काठमाडौं – चीनको ग्वाङ्झाउमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणलाई मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ भन्ने नारासहित मेलामा नेपालको सहभागिता समन्वय गरेको थियो । तीनदिने मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका सम्भावनाबारे अन्तरराष्ट्रिय आगन्तुक र ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो । चीनको ग्वाङ्झाउ सहर हङकङ तथा ग्रेटर वे एरियासँग नजिक रहेको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बजारका रूपमा हेरिएको छ । विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक तथा लक्जरी पर्यटनमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको बोर्डले जनाएको छ ।

मेलाको उद्घाटन दिन नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा ‘गन्तव्य नेपाल’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो । उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य तथा प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको पर्यटन बजार विस्तार रणनीतिसम्बन्धी प्यानल छलफलमा पनि सहभागिता जनाउनुभएको थियो ।

मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजबारे चिनियाँ तथा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए । हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् । यसले नेपाल–चीन पर्यटन पहुँच विस्तार हुनुका साथै चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास नेपाल पर्यटन बोर्डले व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्