काठमाडौं । १५३ विश्व कीर्तिमान कायम गर्न सफल स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ ।साहित्यिक पत्रकार संघ र मिलाप मासिक को संयुक्त आयोजनामा सम्पन्न समारोह साहित्यिक विमर्श र समकालीन नेपाली कवितामाथिको गम्भीर संवादको मञ्च बनेको थियो । कार्यक्रममा साहित्यकार, राजनीतिज्ञ, इतिहासविद्, गीतकार, कलाकार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली रहेका थिए भने प्रमुख अतिथि सांसद राजीव खत्री रहेका थिए । कार्यक्रममा पूर्वसांसद तथा कवि रेखा यादव, इतिहासविद् सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।
वक्ताहरूले ‘अन्तस्करण’लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजका रूपमा व्याख्या गर्दै डा. उपाध्यायले यस कृतिमार्फत समयको बेचैनी, मानवीय सम्बन्ध, सामाजिक यथार्थ, प्रेम, संघर्ष र जीवनका सूक्ष्म अनुभूतिलाई संवेदनशील ढंगले प्रस्तुत गरेको बताएका थिए ।प्रमुख अतिथि राजीव खत्रीले डा. उपाध्यायको लेखनलाई समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको अभिव्यक्ति भएको बताए । समारोहमा अधिकांश वक्ताहरूले डा. उपाध्यायको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै १५३ विश्व कीर्तिमानमार्फत नेपाली सिर्जनात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको उल्लेख गरेका थिए ।
कार्यक्रममा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले संग्रहबाट कविता वाचन गरेका थिए । साथै ‘अन्तस्करण’को भूमिका लेख्ने प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल तथा स्रष्टा डा. डीआर उपाध्याय लाई विशेष सम्मान प्रदान गरिएको थियो ।
आफ्नो मन्तव्यमा डा. उपाध्यायले साहित्यलाई आत्माको आवाज भएको उल्लेख गर्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति, संघर्ष र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए । मिलाप पब्लिकेशन द्वारा प्रकाशित २९९ पृष्ठको यस कवितासंग्रहमा ७९ वटा कविता समावेश छन् । डा. उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, करिब २५० गीत तथा १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक भइसकेका छन् ।






