काठमाडौं – भ्वाइस अफ चिल्ड्रेनले जस्ट राइट्स फर चिल्ड्रेनको सहयोग तथा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा नेपाल सरकारको सन् २०३० सम्म “बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२” कार्यान्वयनमा स्थानीय तहको भूमिका र आगामी कार्ययोजनासम्बन्धी मकवानपुर जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ललित बहादुर घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले विगत २५ वर्षदेखि बालअधिकारको प्रवर्द्धन र संरक्षणमा निरन्तर काम गर्दै आएको तथा आगामी दिनमा पनि तीनै तहका सरकारसँग सहकार्य गरी बालसंरक्षणका क्षेत्रमा सक्रिय रहने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी राम बहादुर चन्दले “बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२” तथा विद्यालयमा बालसंरक्षण मापदण्डलगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी विष्णु पौडेलले बालविवाह अन्त्यका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै सरोकारवालाले साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।






