काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकले नेपालको ३३औँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।
प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छिन् ।
गत फागुन २६ गते न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो ।
बैठकमा डोल प्रसाद अर्याल, नारायण प्रसाद दाहाल, सोबिता गौतम, भीष्मराज आङ्देम्बे तथा रुवी कुमारी सहभागी छन् ।
रिक्त प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कामु प्रधानन्यायाधीशको सट्टा कानुनमन्त्री परिषद्को सदस्यका हैसियतमा उपस्थित हुने संवैधानिक व्यवस्था रहेको छ ।
सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको थियो ।





