पोखरा – पोखरा महानगरपालिकाले पृथ्वीचोक बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। महानगर कार्यपालिकाको वैशाख ३ गतेको निर्णयअनुसार बसपार्कका लागि छुट्याइएको जग्गा खाली गराउन यस्तो सूचना प्रकाशित गरिएको हो।
२०३२ सालमै करिब २०५ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गर्ने योजना अघि सारिए पनि करिब पाँच दशकसम्म काम हुन नसक्दा उक्त जमिन अतिक्रमणमा परेको छ। हाल उक्त क्षेत्र ४७ रोपनीमा सीमित भएको छ। बसपार्कको जग्गामा अहिले ४०० भन्दा बढी परिवार बसोवास गर्दै आएका छन्। बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रमा सवारी व्यवस्थापन अस्तव्यस्त हुनुका साथै लामो समयदेखि ट्राफिक जामको समस्या कायम रहँदै आएको छ।
यता, सुकुम्वासीहरूले भने उचित व्यवस्थापन विना हटाउन नहुने माग गरेका छन्। भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले वडा नम्बर ९ भित्रै वा नजिकको क्षेत्रमा पुनर्वासको व्यवस्था गरेर मात्र बस्ती खाली गराउनुपर्ने माग गर्नुभएको छ। महानगरपालिकाको यो निर्णयसँगै पृथ्वीचोक क्षेत्रमा बसोवास गरिरहेका सुकुम्वासीको व्यवस्थापन र बसपार्क निर्माणको विषय फेरि चर्चामा आएको छ।







