बीपी राजमार्गमा आवागमन पूर्ण रूपमा बन्द, पहिरो र बाढीको उच्च जोखिम

काभ्रे – जिल्ला प्रहरी कार्यालय काभ्रेले लगातारको वर्षापछि उत्पन्न जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ। प्रहरीले दिउँसो सवा ४ बजे जारी गरेको सूचनाअनुसार भारी वर्षाका कारण पहिरो जाने, ढुङ्गा खस्ने, सडक कटान हुने तथा खोलानालामा पानीको बहाव बढ्ने जोखिम उच्च भएकाले यात्रु र सवारी साधनको सुरक्षालाई प्राथमिकता दिँदै आवागमन रोकिएको हो। वर्षा रोकिएपछि सडकको अवस्था सामान्य भएमा पुनः सूचना जारी गरी आवागमन खुला गरिने जनाएको छ।

कुशादेवी क्षेत्रमा वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेपछि आज बिहानदेखि नै उक्त राजमार्गमा आवागमन प्रभावित भएको थियो। डाइभर्सन मर्मतपछि केही समय सञ्चालनमा ल्याइएको सडक पुनः जोखिम बढेपछि बन्द गरिएको हो। विशेषगरी कटुञ्जेदेखि मङ्गलटार खण्डअन्तर्गत घुमाउने नजिकको सडक भाग वर्षासँगै बारम्बार प्रभावित हुँदै आएको छ। सो क्षेत्रमा रोशी खोलामाथि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ।

गत वर्ष असोजमा आएको बाढीले उक्त स्थानमा सडक बगाएको थियो भने चैत महिनामा पनि पुनः क्षति पुगेको थियो। अहिले पनि वर्षासँगै उही स्थानमा जोखिम बढ्दै गएपछि प्रशासनले सतर्कता अपनाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्