काठमाडौं – डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रलाई विकासको प्रमुख सारथी बनाउने प्रतिबद्धता जनाउनुभयो।
अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिँदै उहाँले करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य हुने बताउनुभयो।
“सरकारको स्रोत सीमित छ, तर निजी क्षेत्रको लगानीले नै अर्थतन्त्र विस्तार गर्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार सरकारी खर्च कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब २५ देखि ३० प्रतिशत मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको छ। अर्थतन्त्रलाई सहज बनाउन करिब दुई दर्जन ऐन खारेज गर्ने योजना अघि बढाइएको उल्लेख गर्दै उहाँले राजस्व प्रशासन सुधार गरी कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाइने स्पष्ट पार्नुभयो।
मन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप नीति निर्माण गरिने बताउँदै निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो। साथै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने उहाँको भनाइ छ।






