काठमाडौं – नेपाल आयल निगम ले इन्धनको नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ। नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ। यससँगै काठमाडौं उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ। यसअघि यहाँ पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य २१६ रुपैयाँ कायम भएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २१४ रुपैयाँ तोकिएको छ।
यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने १५० रुपैयाँले वृद्धि गरिएको छ। अब ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको छ भने आधा सिलिन्डरको मूल्य १ हजार ८० रुपैयाँ कायम गरिएको छ। यसअघि पूरा सिलिन्डरको मूल्य २ हजार १० र आधा सिलिन्डरको १ हजार ५ रुपैयाँ थियो।
निगमका अनुसार हवाई इन्धनमा पनि वृद्धि गरिएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलरले मूल्य बढाइएको छ। नयाँ मूल्य समायोजनसँगै पेट्रोलियम पदार्थमा केही राहत देखिए पनि ग्यासको मूल्यवृद्धिले उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।






