काठमाडौंका नदीकिनारका सुकुम्बासी बस्ती हटाइँदै: भोलि बिहानदेखि डोजर चल्ने

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका नदीकिनार आसपास रहेका सुकुम्बासी बस्ती तथा अनधिकृत संरचना हटाउने तयारी गरेको छ। प्रशासनले सूचना जारी गर्दै भोलि बिहान ७ बजेदेखि यस्ता बस्तीहरू एकै पटक खाली गराई डोजर चलाइने जनाएको हो।

प्रशासनका अनुसार सरकारी, पर्ति, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती तथा संरचनाहरू हटाइनेछन्। यसअन्तर्गत काठमाडौं महानगरपालिका का विभिन्न वडाहरूमा रहेका खाडीपाखा, नारायणटोल, रानीबारी, बालुवाटार, धुम्बाराही, देवीनगर, शान्तिविनायक, शंखमुल, वंशीघाट, जागरणमार्ग, स्वयम्भू, बुद्धज्योति, जागृतिमार्ग, संगम टोल, अनामनगर र जडीबुटी मिलनचोक क्षेत्र लक्षित गरिएको छ।

डोजर सञ्चालन अघि ती क्षेत्रहरूमा माइकिङमार्फत सूचना दिइएको छ। प्रशासनले स्थानीय बासिन्दालाई आज बेलुकासम्म घरटहरा पूर्ण रूपमा खाली गर्न निर्देशन दिएको छ। साथै, वास्तविक रूपमा आश्रयविहीन भएका परिवारका लागि सरकारले वैकल्पिक बसोबासको व्यवस्था मिलाउने जनाएको छ।

यसअघि पनि सरकारले थापाथली, गैरीगाउँ (शान्तिनगर) र भक्तपुरको मनोहरा क्षेत्रमा रहेका बस्ती हटाइसकेको छ, जहाँ करिब २ हजार संरचना भत्किँदा झण्डै १० हजार मानिस प्रभावित भएका थिए। प्रशासनले तोकिएको समयसीमा पालना नगरे कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्