कांग्रेस कार्यसम्पादन समिति बैठक आज, संसदीय दल नेता चयनको तयारी

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरिएको हो। बैठकमा पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ। कांग्रेसले अहिलेसम्म संसदीय दल नेता चयन गर्न नसकेको अवस्थामा आजको बैठक निर्णायक बन्ने अपेक्षा गरिएको छ।

गत शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले सहमतिमै संसदीय दल नेता चयन गर्न कार्यदल गठन गरेको थियो। सो कार्यदलको सुझावका आधारमा सभापति गगन थापाले आजै बैठकमा दल नेताको नाम प्रस्ताव गर्ने र दिउँसो १ बजे निर्वाचन समितिबाट औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन्।

संसदीय दल नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यसबाहेक योगेश गौचन थकाली, बासना थापा र निश्कल राई पनि आकांक्षी छन्। पार्टीभित्र सहमतिमै नेतृत्व चयन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ। उपसभापति विश्वप्रकाश शर्माले पनि आङ्देम्बेलाई अघि बढाउँदा उपयुक्त सन्देश जाने धारणा राखेको बताइएको छ।

कांग्रेसभित्रको आन्तरिक सहमति जुटाउने प्रयासबीच आजको बैठकबाट संसदीय दल नेता चयन हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्