काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गरेको फैसलालाई महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले न्यायपूर्ण भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिँदै उहाँहरूले यो निर्णय कांग्रेसका सदस्यहरूले लामो समयदेखि विधि र पद्धतिका लागि गरेको संघर्षको प्रतिफल भएको उल्लेख गर्नुभएको छ । महामन्त्री घिमिरेले अदालतको निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको बताउनुभयो ।
उहाँले यो कसैको हार वा जीतको विषय नभई सम्पूर्ण नेता-कार्यकर्ता एकताबद्ध भई आगामी १५औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । विगतका सम्पूर्ण विवादलाई बिर्सेर पार्टीभित्रको एकता सुदृढ गर्दै अघि बढ्ने समय आएको उहाँको भनाइ छ ।
यस्तै अर्का महामन्त्री प्रदीप पौडेलले पनि सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताउँदै यसलाई हारजीतका रूपमा व्याख्या नगर्न आग्रह गर्नुभयो । उहाँले यस्तो व्याख्याले पार्टी एकतामा असर पार्न सक्ने भएकाले सबै पक्ष सजग रहनुपर्ने बताउनुभयो ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । हिजो न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको कार्यसमितिको पक्षमा निर्णय दिएको हो ।







