काठमाडौं उपत्यकामा एसइई कापी जाँच सकियो, नतिजा बोर्डमा बुझाइयो

काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसइई) का कापी जाँच कार्य सम्पन्न गरी नतिजा तथा उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा बुझाइसकेका छन्।

निर्धारित कार्यतालिकाअनुसार कापी जाँच सकिएको तीन दिनभित्रै नतिजा पठाउने लक्ष्य राखिएको थियो, जसअनुसार तीनै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरूले जिम्मेवारी पूरा गरेका हुन्।

सबैभन्दा पछि काठमाडौं जिल्लाले शुक्रबार दिउँसो सम्पूर्ण नतिजा र उत्तरपुस्तिका बोर्डमा बुझाएको हो। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख समन्तमणि आचार्यका अनुसार धेरै परीक्षा केन्द्र भएकाले संकलनमा केही समय लागे पनि तोकिएकै समयमा काम सम्पन्न गरिएको हो। काठमाडौंमा १३४ परीक्षा केन्द्रबाट करिब ४० हजार विद्यार्थी सहभागी भएका थिए।

भक्तपुर जिल्लाले भने चैत ३० गतेभित्रै नतिजा र उत्तरपुस्तिका बुझाइसकेको जनाएको छ। त्यहाँ २३ परीक्षा केन्द्रमा ६ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। ललितपुर जिल्लाले पनि वैशाख २ गतेभित्र सबै विवरण बोर्डमा बुझाइसकेको छ। जिल्लामा ४० परीक्षा केन्द्रबाट करिब १० हजार ५ सय विद्यार्थीले परीक्षा दिएका थिए। राष्ट्रिय परीक्षा बोर्डका अनुसार अझै केही जिल्लाबाट नतिजा आउने क्रम जारी छ। बोर्डले वैशाख ५ गतेभित्र सबै विवरण बुझाइसक्न निर्देशन दिएको थियो। यस वर्षको एसइई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डले वैशाखको अन्तिम सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्