सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित

काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

शुक्रवार बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्का बाहेक अन्य कुनै उम्मेदवारी नपरेको जानकारी दिँदै सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका हुन् । खड्काको नाम सभापतिका लागि मोहनबहादुर आचार्यले प्रस्ताव गरेका थिए ।

निर्वाचित भएपछि सभापति खड्काले लेखा समिति अत्यन्त महत्वपूर्ण निकाय भएको उल्लेख गर्दै आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो अनुभव, योग्यता र क्षमतालाई उपयोग गर्दै प्रभावकारी काम गर्ने बताएका छन् ।

उनले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको मुख्य एजेण्डा बनाउने स्पष्ट पारे । विगतमा देखिएका विसंगतिहरू दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै संघदेखि स्थानीय तहसम्म सुधार आवश्यक रहेको औंल्याए ।

खड्काले विभिन्न सरकारी निकायमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताए । उनका अनुसार आर्थिक अनुशासन र वित्तीय सुशासन कायम नगरी मुलुकको दिगो विकास सम्भव नहुने भएकाले यही विषयलाई प्राथमिकतामा राखिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्