आज मातातीर्थ औँसी: आमाको सम्मानमा ‘आमाको मुख हेर्ने’ पर्वको रुपमा मनाइँदै

काठमाडौँ – हरेक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ।

यस दिन सन्तानले बिहानै उठी स्नान गरी आफ्नी आमालाई नयाँ लुगा लगाउने, मीठा तथा पौष्टिक परिकार खुवाउने र आशीर्वाद थाप्ने परम्परा रहेको छ। आमाप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइन्छ। आमा नभएका व्यक्तिहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा ब्राह्मणलाई सिदादानसहित भोजन गराउने चलन छ। यसरी आमाले जीवनभर गरेका त्याग, माया र योगदानको स्मरण गरिन्छ।

सनातन वैदिक परम्पराअनुसार प्रत्येक व्यक्तिले देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नुपर्ने मान्यता छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्तिले जन्मदिने आमा र जन्मभूमिको महत्त्व स्वर्गभन्दा पनि महान् रहेको सन्देश दिन्छ। नौ महिनासम्म गर्भमा धारण गरी सन्तानलाई जीवन दिने भएकाले आमाको स्थान अत्यन्त उच्च मानिन्छ।

यस अवसरमा काठमाडौँको मातातीर्थ मा बिहानैदेखि मेला लागेको छ। यहाँ आमाको सम्झनामा श्रद्धालुहरूले स्नान, तर्पण र पूजाआजा गर्ने गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्