काठमाडौँ – बालेन्द्र शाहले आज प्रदेशका मुख्यमन्त्रीहरूसँग विकास निर्माण र समन्वयका विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा कोशी र सुदूरपश्चिमबाहेक पाँच प्रदेशका मुख्यमन्त्री सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती, त्यसका कारण, सरकारका प्राथमिकता, स्रोत–साधनको समुचित बाँडफाँट तथा प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याबारे विस्तृत रूपमा कुराकानी भएको छ।
यसैगरी राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारबीच सहकार्य कसरी सुदृढ बनाउने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
गत चैत १३ गते पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग पहिलो पटक सामूहिक भेट तथा छलफल गर्नुभएको हो।







