काठमाडौँ – अमेरिका र चीन बीच व्यापारिक तनाव फेरि बढ्ने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर लगाउने चेतावनी दिएपछि चीनले ‘कडा प्रतिआक्रमण’ गर्ने प्रतिक्रिया जनाएको हो। अमेरिकाले चीनले इरान लाई सैन्य सहयोग गर्न लागेको आरोप लगाएपछि विवाद थप चर्किएको हो। ट्रम्पले इरानलाई हतियार सहयोग गरेमा चिनियाँ वस्तुमा ५० प्रतिशतसम्म कर लगाइने चेतावनी दिएका छन्।
अमेरिकी सञ्चारमाध्यम CNN र The New York Times ले चीनले इरानलाई हवाई रक्षा प्रणाली र मिसाइल उपलब्ध गराउन सक्ने दाबी गरेका थिए। तर चीनले यी आरोपलाई पूर्णरूपमा अस्वीकार गर्दै ‘बनावटी’ भएको प्रतिक्रिया दिएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले यस्ता आरोपलाई बहाना बनाएर कर बढाउन खोजे कडा जवाफ दिइने चेतावनी दिएका छन्।
चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ, जहाँ चीन इरानको प्रमुख तेल खरिदकर्ता हो। यद्यपि औपचारिक सैन्य गठबन्धन भने नरहेको विश्लेषण गरिएको छ। पछिल्लो घटनाक्रमले विश्व व्यापार र ऊर्जा बजारमा थप अस्थिरता ल्याउने चिन्ता बढाएको छ।







