काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ तीव्र रूपमा बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।
यसैगरी, चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै आज ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।





