उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं – उत्तरपश्चिम क्यानडाको युकोन टेरिटोरीमा शनिबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार दिउँसो १:४१ बजे गएको भूकम्पको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिमतर्फ रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। करिब १० किलोमिटर गहिराइमा गएको यो भूकम्प पछिल्ला वर्षमा क्यानडामा महसुस गरिएको सबैभन्दा शक्तिशाली कम्पनमध्ये एक मानिएको छ।

भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको पुष्टि भएको छ, जस मध्ये सबैभन्दा ठूलो ५.१ म्याग्निच्युडको थियो। प्रारम्भिक अवस्थामै हताहती वा भौतिक क्षतिको कुनै ठोस विवरण आएको छैन। तर ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमार्फत भवन हल्लिएको र कम्पन स्पष्टै महसुस भएको बताएका छन्।

शनिबार गएको यो भूकम्प क्यानडामा पछिल्ला ७९ वर्षयता मापन गरिएको सबैभन्दा ठूलो भूकम्प हो। यसअघि सन् १९४६ मा भ्यान्कुभर आइल्याण्ड क्षेत्रमा ७ भन्दा ठूलो म्याग्निच्युडको भूकम्प गएको थियो। क्यानडामा दर्ता गरिएको इतिहासकै सबैभन्दा ठूलो भूकम्प सन् १७०० जनवरीमा ९ म्याग्निच्युडको थियो, जसको केन्द्रविन्दु ब्रिटिस कोलम्बियाको समुद्रतट बाहिर रहेको मानिन्छ।

अर्थक्वेक्स क्यानडाले २०१५ मा गरेको अध्ययनअनुसार युकोन टेरिटोरी उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। शनिबारको भूकम्पले त्यही जोखिम पुनः पुष्टि गरेको विज्ञहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्