काठमाडौँ – कञ्चनपुरमा विभिन्न सार्वजनिक निकायहरूमा बढ्दो बेथिति, भ्रष्टाचार र गैरकानुनी गतिविधि नियन्त्रणका मागसहित नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल समाजवादीले जिल्ला प्रशासन कार्यालयमा ८ बुँदे ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार अखिल समाजवादीका प्रतिनिधिहरूले कञ्चनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्। संगठनका केन्द्रीय महासचिव प्रकाश जप्रेलले जेनजी आन्दोलनका कार्यकर्तामाथि भइरहेको अन्याय र त्यसपछि अझ तीव्ररूपमा देखिएको प्रशासनिक भ्रष्टाचारले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
अखिल समाजवादीका जिल्ला संयोजक ललित मिश्रको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा प्रदेश तथा संघीय तहका जिम्मेवार पदाधिकारीदेखि ठेकेदार, कर्मचारी र तिनका निकट आफन्तको अवैध सम्पत्तिको छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।
कञ्चनपुरमा सक्रिय भ्रष्टाचारी, दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, ठेकेदार तथा उच्च पदस्थ कर्मचारीको अवैध सम्पत्तिको छानबिन, जेनजी आन्दोलनका कार्यकर्तामाथि दमन गर्ने गृहमन्त्री, प्रधानमन्त्री, प्रशासन तथा प्रहरी प्रमुखमाथि कारबाही, जेनजी आन्दोलनको निष्पक्ष छानबिन, भारतबाट भित्रिने गैरकानुनी सामानको कडाइका साथ नियन्त्रण, लागुऔषध नियन्त्रणमा प्रभावकारी कदम, भन्सार तस्करी रोकथाम, सरकारी कार्यालयहरूमा फैलिएको कमिसन प्रथाको अन्त्य, समग्र प्रशासनिक संयन्त्र सुधारका लागि ठोस कार्ययोजना लागू गर्नुपर्ने लगायतका मागहरु राखिएको संयोजक मिश्रले जानकारी दिए ।






