काठमाडौँ – “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ मनाइएको ४५औँ विश्व खाद्य दिवस–२०२५ को अवसरमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले हुम्लाको सिमकोट गाउँपालिकालाई कर्णाली प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको छ।
सम्मान कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियार, सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा र डा. दीपक कुमार खराल, कृषि विभागका महानिर्देशक प्रकाश सन्जेल, साथै मन्त्रालयका सहसचिव, उपसचिव तथा कृषि विज्ञहरूको उपस्थिति रहेको थियो।

सिमकोट गाउँपालिकाले ‘हरित सिमकोट, स्वस्थ जीवन’ नाराका साथ सञ्चालन गर्दै आएको विषादीरहित कृषि उत्पादन प्रवर्द्धन र पर्वतीय अर्गानिक खेती अभियानका कारण यो सम्मान प्राप्त गरेको हो। गाउँपालिकाले स्थानीय रैथाने बालीहरू — जौ, फापर, कोदो, मार्सी धान, आलु, ओखर, जडीबुटी तथा स्याउ उत्पादनमा अर्गानिक प्रणालीलाई प्राथमिकता दिंदै आएको छ।
विशेष गरी अर्गानिक स्याउ, जडीबुटी र उच्च हिमाली बाली उत्पादनमा प्रोत्साहन दिंदै सिमकोट गाउँपालिकाले स्थानीय उत्पादनलाई बजार र पर्यटनसँग जोड्ने ‘एग्रो–इको टुरिजम’ अभियान अघि सारेको छ। हालसम्म गाउँपालिकाले स्थानीय उत्पादन प्रदर्शन र बिक्रीका लागि २ कोषेलीघर स्थापना, साथै होमस्टे क्षेत्रमा अर्गानिक खानाको प्रयोगलाई प्राथमिकता दिएको छ।
त्यस्तै, सिँचाइ कुलो, थोपा सिँचाइ र सामुदायिक पानी व्यवस्थापन प्रणालीको विस्तारमार्फत स्थानीय कृषकलाई उत्पादन वृद्धिमा सहयोग पुर्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार, “यो सम्मान सिमकोटवासी जनप्रतिनिधि, कर्मचारी र कृषक सबैको सामूहिक प्रतिबद्धताको परिणाम हो। यसले हामीलाई ‘हरित र अर्गानिक सिमकोट’ निर्माणको लक्ष्यलाई अझ सशक्त बनाउन प्रेरणा दिएको छ। साथै, यो उपलब्धिले कर्णालीको पहिचानलाई कृषि र पर्यटन दुवै क्षेत्रमा उजागर गर्ने अवसर प्रदान गरेको छ,”

यस उपलब्धिका लागि सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश कृषि मन्त्रालय, हुम्ला जिल्ला कृषि ज्ञान केन्द्र, तथा कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सबै निकायप्रति आभार व्यक्त गरेको छ।
यसैगरी, कोशी प्रदेशको लालीगुराँस नगरपालिका (तेह्रथुम), मधेश प्रदेशको बरहथवा नगरपालिका (सर्लाही), बागमती प्रदेशको जिरी नगरपालिका (दोलखा), गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका (गोरखा), कर्णाली प्रदेशको सिमकोट गाउँपालिका (हुम्ला) र सुदूरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका (दार्चुला) लाई यस वर्षको विश्व खाद्य दिवसमा प्रदेशगत उत्कृष्ट पालिकाको सम्मान प्रदान गरिएको हो।

सिमकोट गाउँपालिकाले विषादीरहित अन्न, फलफूल, जडीबुटी र औषधीय बाली उत्पादनमा जोड दिँदै ‘अर्गानिक र आत्मनिर्भर सिमकोट’ अभियानलाई दिगो विकास, स्वच्छ खाना र सुखद् भविष्यको दिशामा अघि बढाएको छ। यो सम्मानले गाउँपालिकाको दिगो कृषि, स्वस्थ जीवन र हरित अर्थतन्त्रप्रतिको दृढ प्रतिबद्धता झल्काउँछ।








