काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
हिजो सुनको भाउ तोलाको २ लाख ३८ हजार रुपैयाँ थियो । लगातार बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र डलर विनिमय दरमा आएको उतारचढावका कारण सुनको मूल्य उक्लिएको महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउमा पनि उल्लेखनीय वृद्धि भएको छ । चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको ३ हजार २ सय २० रुपैयाँमा पुगेको छ । हिजोको तुलनामा चाँदीमा पनि यो मूल्य हालसम्मकै उच्च दर हो ।
सुनचाँदी व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा लगानीकर्ताहरूको ध्यान फेरि बहुमूल्य धातुतर्फ मोडिएको छ, जसले बजारमा मूल्य वृद्धिलाई थप बल मिलाएको हो ।






