काठमाडौं – हिजो र अस्ति ओरालो लागेको शेयर बजार आज भने उकालो लागेको छ। दशैँ बिदाअघि भएको कारोबारमा शेयर बजार परिसूचक नेप्से ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ।
आज होटल, अन्य र व्यापार बाहेकका सबै समूहको शेयर बढेको छ। विशेषगरी जीवन बीमा समूहको शेयर सय अंकभन्दा बढीले उकालो लागेको छ। बजारमा १७० कम्पनीको शेयर बढ्दा ६९ कम्पनीको घटेको छ भने १२ कम्पनीको स्थिर छ। आज ग्लोबल आईएमई समुन्नति योजना–२ को शेयर १० प्रतिशतले बढेको छ भने सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। गएको बिहीबार ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३१४ कम्पनीका ७५ लाख ११ हजार कित्ता शेयर २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ। यस वर्षको दशैँ बिदा भोलिदेखि सुरु हुँदैछ। अब शेयर बजार असोज १९ गते आइतवारबाट मात्र खुल्नेछ।






