दार्चुलाको रेडियो लिपुलेक पाँचौँ वर्षमा प्रवेश

काठमाडौँ – ‘समृद्धि नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूलनाराका साथ दार्चुलाको सामुदायिक रेडियो लिपुलेक आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको छ।

२०७८ साल असोज १ गतेदेखि शैल्यशिखर नगरपालिका–६ पनेबाँजबाट १०० वाट क्षमतामा ९९.६ मेगाहर्जमा प्रशारण थालिएको रेडियोले सत्यतथ्य समाचार, सूचना, विज्ञापन र गीत–संगीतलगायतका कार्यक्रम नियमित रूपमा प्रसारण गर्दै आएको छ। अद्वितीय राष्ट्रिय विकास संगठनद्वारा सञ्चालित यो रेडियो हाल दैनिक १८ घण्टा प्रसारण गरिरहेको छ।

रेडियोको तरङ्ग दार्चुला, बैतडी, डडेल्धुरा, बझाङका केही ग्रामीण क्षेत्र हुँदै भारतको उत्तराखण्डको पिथौरागढसम्म सुनिन्छ। सूचनाको पहुँचबाट टाढा रहेका समुदायलाई मुख्यधारमा ल्याउने उद्देश्यले स्थापना भएको रेडियोले समाचारमूलक, जनचेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आएको छ। कतिपय समाचार राष्ट्रिय स्तरका न्यूज नेटवर्कको सहकार्यमा पनि प्रशारण गरिन्छ।

रेडियोले मानव अधिकार, सामाजिक न्याय, सुशासन, शान्ति, कला, संस्कृति संरक्षण, पर्यटन विकास, शिक्षा, स्वास्थ्य, वातावरण, वैज्ञानिक कृषि प्रणालीजस्ता विषयमा विशेष कार्यक्रम प्रशारण गर्दै आएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दार्चुलाबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले सामुदायिक रेडियो लिपुलेक एफएम ९९.६ मेगाहर्ज चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बुधबार फोन संवादमार्फत उनले रेडियोको उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिँदै समाज रूपान्तरण, सूचनाको हकको कार्यान्वयन, मौलिक धर्मसंस्कृतिको संरक्षण तथा सामाजिक चेतनाको जागरणमा रेडियोले खेलेको भूमिकालाई सकारात्मक र महत्वपूर्ण ठहर गरेका छन्। साथै, सामाजिक विभेद, कुरीति र विसङ्गतिविरुद्ध खरो रूपमा प्रस्तुत भई सभ्य समाज निर्माणमा रेडियो लिपुलेकले पुर्‍याएको योगदान प्रशंसनीय रहेको पनि पूर्वमन्त्री बडूले बताएका छन्।

पाँचौँ वार्षिकोत्सवका अवसरमा रेडियोका अध्यक्ष मोहन सिंह धामीले गौरवमय यात्रामा साथ दिने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि श्रोताको चाहनाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

प्रबन्ध निर्देशक गणेश सिंह धामीले रेडियो कुनै व्यक्ति वा दलको पक्षपोषणमा नभई आम नागरिकको साझा आवाज बनेर अघि बढिरहेको बताउनुभयो। तर स्थानीय तहबाट सहयोग नपाउँदा सञ्चालनमा समस्या भोग्नुपरेको र व्यक्तिगत आम्दानीबाटै कर्मचारीहरूको तलब तिर्नुपर्ने बाध्यता रहेको गुनासो पनि गर्नुभयो।

स्टेशन म्यानेजर गोबिन्द सिंह धामीले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, खेलकुद, कृषि, साहित्यलगायतका कार्यक्रम उत्पादन गरी समाजलाई सूचित गराउने प्रयास भइरहेको जानकारी दिनुभयो। साथै, मनोरञ्जनात्मक कार्यक्रममार्फत श्रोताहरूलाई सन्तुष्ट पार्न निरन्तर सक्रिय रहेको पनि उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्