काठमाडौँ – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २० गतेदेखि आईपीओ निष्काशन सुरु गरेको थियो। भदौ २४ गते निष्काशन बन्द गर्ने सूचना प्रकाशित गरे पनि सो दिनको विषम परिस्थितिका कारण अवधि एक दिन थप गरिएको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
हाल दोस्रो चरणअन्तर्गत सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याई बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी बी माइनस” रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
झापा इनर्जीले १० मेगावाट क्षमताको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ र प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २२ वर्ष बाँकी छ।
यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।






