दशैँका लागि आजदेखि सुकिला नोट सटही सुरु

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि सुकिला नोट साट्न सुरु गरेको छ। असोज १० गतेसम्म नोट सटही हुने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। जेन–जी आन्दोलनका कारण उत्पन्न अवस्थाले केही चुनौती भए पनि बैंक तथा वित्तीय संस्थामा भौतिक क्षति नभएकाले यसअघि तय भएको निर्णयअनुसार नै नोट सटही प्रक्रिया सुरु भएको हो।

राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा सुकिला नोट साट्न सकिनेछ। साथै विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट पनि नोट सटही गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता किरण पण्डितले जानकारी दिए।

यसपालि पाँच रुपैयाँ दरको नयाँ नोट पनि वितरण गरिनेछ। ग्राहकले आफ्नो खाता रहेको वा नजिकको बैंक तथा वित्तीय संस्थामा गई सजिलै नोट साट्न सक्नेछन्। नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षदेखि दशैँका लागि नयाँ नभई सुकिला नोट मात्र वितरण गर्ने नीति लिएको हो। यस वर्षको बडादशैँको टीका असोज १६ गते बिहीबारका दिन परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्