काठमाडौँ – लोकप्रिय टिकटक स्टार आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंह ठकुरीबीचको पारिवारिक विवाद अन्ततः अदालतसम्म पुगेको छ। नानु सिंहले आफ्ना छोरा आयुष र बुहारी अलिजे जमालीविरुद्ध गाली–बेइज्जतीको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।
जिल्ला अदालत काठमाडौंमा जेठ २५ गते दर्ता भएको उक्त मुद्दाबारे आफूले हालै मात्र जानकारी पाएको ठकुरीले बताएका छन्। ठकुरीका अनुसार अहिले आमासँग नियमित सम्पर्क नभए पनि आवश्यक परे मात्र सम्पर्क हुने गरेको छ।
ठकुरीले कानुनी प्रक्रिया अगाडि बढाउने जिम्मा आफ्ना वकिल पर्वतराज चापागाईंलाई दिएका छन्। तर वकिल चापागाईंका अनुसार हालसम्म मुद्दाको विस्तृत अध्ययन नभएकोले केही भन्न सक्ने अवस्था छैन। केही महिनाअघि आयुष र आमाबीचको व्यक्तिगत विवाद सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निकै चर्चा भएको थियो। आमाछोरा दुवैले एकअर्काविरुद्ध टिकटकमार्फत गुनासो पोखेका थिए। सोही घटनापछि दुवैजनाका समर्थकहरू सामाजिक सञ्जालमा दुई धारमा विभाजित भएका थिए।
पारिवारिक विवादको यस्तो कानुनी रुप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पुनः टिकटक स्टार आयुष सिंह ठकुरीको चर्चा सुरु भएको छ। यस प्रकरणले पारिवारिक समस्याहरूको सार्वजनिक प्रकटीकरण र सामाजिक सञ्जालको प्रभावबारे नयाँ बहस पनि ल्याएको देखिन्छ।






