सेयर बजार ४१.३५ अंकले घट्यो, कारोबार रकम पनि घट्दै

काठमाडौं, साउन २० – साताको दोस्रो दिन मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३५ अंकले घट्दै २,८३४ विन्दुमा झरेको छ। कारोबार सुरु भएको केही समयमै परिसूचक २,९०५ सम्म पुगेको भए पनि त्यसपछि बजार निरन्तर ओरालो लागेको थियो।

आजको बजार कारोबार प्रारम्भ भएसँगै केही समय हरियो देखिए पनि अन्त्यसम्म बजार रातोमै सीमित रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेखनीय रुपमा घटेको छ। सोमबार १० अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भए पनि आज ९ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ।

अधिकांश समूह ओरालो, माइक्रोफाइनान्स उकालो

नेप्सेका अधिकांश उपसमूहको परिसूचक आज घटेको छ। बैंकिङ समूह १.०४, विकास बैंक २.५५, फाइनान्स १.६८, होटल तथा पर्यटन ०.८४, हाइड्रोपावर १.५९, लगानी १.८०, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन १.६१, निर्जीवन बीमा १.२७, अन्य २.८३ र व्यापार समूह १.६२ प्रतिशतले घटेका छन्।

यता, माइक्रोफाइनान्स समूह भने ०.५० प्रतिशतले वृद्धि भएको छ। यस दिन समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, विन नेपाल लघुवित्तको मूल्य ४.६४ र सिर्जनशील लघुवित्तको ४.२२ प्रतिशतले उकालो लागेको छ।

थ्रीस्टार हाइड्रोपावरमा उच्च गिरावट

थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घट्दै आजको सबैभन्दा ठूलो घट्ने कम्पनीको सूचीमा परेको छ। त्यसैगरी, ट्रेड टावरको मूल्य ७.३५, लुम्बिनी विकास बैंकको ५.४ र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको मूल्य ४.८० प्रतिशतले घटेको छ।

सबैभन्दा बढी कारोबार हुने कम्पनीहरू

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, ट्रेड टावर, शिवम् सिमेन्ट, बुटवल पावर कम्पनी, र ङादी ग्रुप अग्रपंक्तिमा रहे।

बजारको उतारचढाव र कारोबार रकममा आएको गिरावटले लगानीकर्तामा अन्योलता बढाएको छ। प्राविधिक विश्लेषकहरूका अनुसार बजारमा हालसम्म कुनै ठूला सकारात्मक सूचक नआएको कारण चाप कायम रहेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्