नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं – नेपालको अटोमोबाइल्स क्षेत्रको सबैभन्दा ठूलो, व्यवस्थित र बहुप्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा हुन लागेको यो प्रदर्शनी युनिट्री (UNITREE) को मुख्य प्रायोजनमा सम्पन्न हुँदैछ। ‘Go for More’ भन्ने नाराका साथ आयोजना हुने यस प्रदर्शनीमा अटोमोबाइल्स क्षेत्रमा भइरहेका नवीनतम प्रविधि, विद्युतीय सवारी साधन, हरित प्रविधि, स्वदेशमै बनेका पार्टपुर्जा र विविध वित्तीय तथा प्राविधिक सेवा प्रदायकहरूको सहभागिता रहनेछ।

६ दिनसम्म चल्ने यस प्रदर्शनी बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। नाडाका अनुसार, यस वर्षको अटो शोमा १२ वटा चारपाङ्ग्रे सवारीसाधन ब्राण्ड, २३ वटा दुईपाङ्ग्रे ब्राण्ड, र २७ भन्दा बढी अटो पार्ट्स, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक संस्थाहरूको सहभागिता रहनेछ। भृकुटीमण्डपमा करिब १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा ३ लाखभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ।

यस अटो शोको विशेष आकर्षणको रूपमा “विन्टेज मोटर शो” रहनेछ, जहाँ दुर्लभ र ऐतिहासिक सवारी साधनहरू प्रदर्शन गरिनेछ। यसमा Morris Minor, Fiat, Peugeot, Beetle, Mini Cooper, Mercedes Benz, Toyota Corolla, Toyota RT, RT40, VW Bus, Mazda Familia जस्ता पुराना गाडीहरू प्रदर्शन गरिनेछन्। यस्तै, Made in Nepal Pavilion मार्फत स्वदेशमै निर्माण भएका अटो पार्टपुर्जाहरू प्रदर्शन गरिनेछ भने International Business Pavilion मा अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता र व्यवसायिक सहकार्य प्रस्तुत गरिनेछ।

प्रदर्शनीमा नयाँ मोडलका विद्युतीय गाडीहरूको सार्वजनिक उद्घाटन, विभिन्न सेमिनार, अन्तरक्रिया कार्यक्रम, नीति र नवप्रवर्तन सम्बन्धी छलफलहरू पनि हुनेछन्। प्रदर्शनी अवधिभर आगन्तुकहरूको सहजता र सुरक्षाका लागि स्वास्थ्य टोली, फायर ब्रिगेड, ट्राफिक प्रहरी, सीसीटिभी निगरानी, र अन्य सुरक्षा व्यवस्थाको पूर्ण तयारी गरिएको छ।

यस कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रका संस्थाहरूको सहकार्य रहेको छ। Shikhar Insurance सहप्रायोजकको रूपमा, Campa Cola ले Powered by को रूपमा, Yango मोबिलिटी पार्टनर, WorldLink इन्टरनेट पार्टनर, KIST Hospital हस्पिटल पार्टनर, Himalayan Safety Solutions Pvt. Ltd. फायर सेफ्टी पार्टनरका रूपमा रहेका छन्। प्रदर्शनीको टिकटिङ व्यवस्था Khalti by IME मार्फत हुनेछ, जहाँ अग्रिम खरिदमा छुट उपलब्ध हुनेछ। यस्तै, Nepal Lube Oil Ltd. ले १२ जना भाग्यशाली विजेतालाई एक वर्षसम्म प्रत्येक सर्भिसमा निःशुल्क लुब्रिकेन्ट सेवा प्रदान गर्नेछ।

साउन २० गते (अगस्ट ५, २०२५) मा ललितपुरको द प्लाजा, पुल्चोक मा आयोजित प्रेस सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ को सम्पूर्ण विशेषता, तयारी र उद्देश्यबारे जानकारी गराए। उनले यस प्रदर्शनीले अटोमोबाइल्स उद्योगमा व्यावसायिक सम्भावना, प्रविधि हस्तान्तरण र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

नाडा अटो शो २०२५ अटोमोबाइल्स क्षेत्रका व्यवसायी, उपभोक्ता, नीति निर्माताहरू र प्रविधिमा चासो राख्ने सबैका लागि उत्कृष्ट अवसर हो। यसले न केवल व्यापारिक कारोबार र प्रविधि प्रसारलाई तीव्रता दिनेछ, तर नेपालको अटोमोबाइल्स उद्योगको दीर्घकालीन विकास र नवप्रवर्तनलाई पनि टेवा पुर्‍याउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्