बैतडी – बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–५ मा अवस्थित सेटिगाउँ बहुमुखी क्याम्पसमा माध्यमिक र निम्न माध्यमिक तहका अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि निःशुल्क तयारी कक्षा सुरु गरिएको छ।
विद्यार्थीको हक–अधिकार तथा शैक्षिक रूपान्तरणमा टेवा पुगोस् भन्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को विशेष पहलमा क्याम्पस प्रशासनसँगको समन्वयमा उक्त तयारी कक्षा सञ्चालन गरिएको स्ववियु सभापति कृष्णसिंह रावलले जानकारी दिए । छ जना दक्ष तथा अनुभवी शिक्षकको संयोजनमा सञ्चालन भइरहेको यो कक्षामा जुनसुकै क्याम्पसमा अध्ययनरत इच्छुक विद्यार्थीहरू सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
स्थानीय क्याम्पसका विद्यार्थीहरूलाई तयारी कक्षाका लागि धनगढी, महेन्द्रनगर, काठमाडौँ जस्ता शहरमा जानुपर्ने भएपनि अब त्यो आवश्यकता हटेर जाने सभापति रावलको भनाइ छ । आगामी दिनमा काठमाडौँका विभिन्न प्रतिष्ठित इन्स्टिच्युटहरूसँग अनलाइन मार्फत सहकार्य गरी थप तयारी कक्षा पनि सञ्चालन गरिने रावलले बताए ।
क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीले उक्त तयारी कक्षाको औपचारिक उद्घाटन गरेका हुन्। उनले विद्यार्थीकै पक्षमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए । स्ववियुले स्ववियु निर्वाचनको बेला गरेका प्रतिबद्धताअनुसार कार्यान्वयन अघि बढाइएको भन्दै सभापति रावलले आफूहरू “सेवा नै मानव धर्म हो” भन्ने भावनाबाट प्रेरित भएको बताए ।
अक्षयकोष २०८२ स्थापनार्थ एक महिने आर्थिक अभियान
यसैबीच, क्याम्पसमा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ‘अक्षयकोष–२०८२’ स्थापनार्थ स्ववियुको विशेष सक्रियतामा एक महिनाको स्वैच्छिक आर्थिक सहयोग अभियान सुरु गरिएको छ। श्रावण १५ गतेदेखि भाद्र १५ गतेसम्म सञ्चालन हुने यस अभियानमा संकलित रकम स्ववियु खातामा संचय गरिनेछ र अक्षयकोषमार्फत वार्षिक रूपमा छात्रवृत्ति उपलब्ध गराइनेछ। स्ववियु सभापति रावलले अभिभावक, शुभेच्छुक, विभिन्न पेशा व्यवसायसँग आबद्ध संघसंस्था र सम्पूर्ण सहयोगी व्यक्तिहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गर्नुभएको छ। सहयोग गर्ने सबैको नाम, रकम र ठेगानासहितको विवरण सार्वजनिक गरिने समेत जानकारी दिएका छन् । रावलले स्ववियु अक्षयकोषमा व्यक्तिगत रूपमा शु-भारम्भ स्वरूप रु ५,३५५ (पाँच हजार तीन सय पचपन्न) जम्मा गरेका छन्। साथै, उनले अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
अक्षयकोष–२०८२ को विवरण:
खाता नम्बर: 15900107946167000001
खाताको नाम: Setigaun Bahumukhi Campus Swatantra Bidharthi Union
बैंक: नेपाल बैंक लिमिटेड, शाखा कार्यालय गोकुलेश्वर, दार्चुला
स्ववियु सभापति रावलले स्ववियु निर्वाचनका बेला गरेका प्रतिबद्धताहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन्। विद्यार्थीबीच अत्यन्त लोकप्रिय रहेका रावलले एकपछि अर्को सकारात्मक कदम चाल्दै विद्यार्थीहरूको मन जित्न सफल भइरहेका छन्। निःशुल्क तयारी कक्षा, सेवा–भावनाले प्रेरित गतिविधि र विद्यार्थीको हक–हितमा हुने सबै काममा उहाँको सक्रिय भूमिका रहेको छ।






