वेदकोट–१० मा नवदुर्गा विद्यालयको चार कोठे भवन शिलान्यास

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–१०, नयाँगाउँमा अवस्थित नवदुर्गा आधारभूत विद्यालयमा चार कोठे भवन निर्माणको शिलान्यास गरिएको छ।

शनिबार आयोजित एक विशेष समारोहबीच वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले भवनको शिलान्यास गर्नुभयो।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बोहराले शिक्षा क्षेत्रलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै शिक्षा विकास नै समाज र राष्ट्रको समग्र समृद्धिको आधार भएको स्पष्ट गर्नुभयो।

“शिक्षा आजको आवश्यकता मात्र होइन, भोलिको लागि गरिने महत्वपूर्ण लगानी हो,” नगर प्रमुख बोहराले भन्नुभयो, “हामी सबैको सामूहिक दायित्व हो – बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्नु, र त्यसका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नु अत्यावश्यक छ।”

उहाँले गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक, प्रभावकारी पाठ्यक्रम, समुचित शिक्षण विधि र विशेषगरी भौतिक पूर्वाधारको विकास अनिवार्य रहेकोमा जोड दिनुभयो। साथै, आगामी दिनमा शिक्षा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

नगर प्रमुखले नगरभित्रका अन्य विद्यालयहरूको भौतिक अवस्था सुधार, नयाँ भवन निर्माण तथा आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापनमा पनि नगरपालिका तत्पर रहेको जानकारी दिनुभयो।

कार्यक्रममा वेदकोट–१० का वडा अध्यक्ष रतन सिंह बिष्टले भवन निर्माणले विद्यार्थीको सिकाइमा सहजता ल्याउने र विद्यालय आउने वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। “हाम्रो लक्ष्य बालबालिकालाई सुरक्षित र प्रेरणादायी वातावरणमा अध्ययनको अवसर प्रदान गर्नु हो,” उहाँले भन्नुभयो।

विद्यालयका प्रधानाध्यापक महेश्वर भट्टका अनुसार चार कोठे भवन निर्माणका लागि कुल ५० लाख ५५ हजार ६ सय ३३ रुपैयाँको लागत अनुमान गरिएको छ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्