काठमाडौं – नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियामा शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनायो। उसका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। बलिङतर्फ नेपालका अभय यादव र सुशील बहादुर रावलले समान तीन–तीन विकेट लिए। कप्तान विपिन शर्मा र शुभम खनालले क्रमशः एक र दुई विकेट हात पारे।
११४ रनको साधारण लक्ष्य पछ्याउने क्रममा नेपाल २९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्यमा पुगेको हो। कठिन अवस्थामा ९२ रनमै ८ विकेट गुमाइसकेको नेपालका लागि जोय थापा संकटमोचक बने। उनले अविजित २४ रन बनाएर नेपाललाई जितको किनारमा पु¥याए।
यो उपाधिसँगै नेपालले पूर्वी क्षेत्रीय यू–१६ क्रिकेटमा आफ्नो दबदबा कायम राखेको छ। युवा खेलाडीको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको संकेत गरेको विश्लेषकहरू बताउँछन्।






