काठमाडौँ – जिल्ला प्रहरी परिसर ललितपुरले व्यक्ति बेपत्ता पारेको आरोपमा बाजुरा स्थायी घर भइ हाल ललितपुरमा बसोबास गर्दै आएका पुरिन्द्र बहादुर शाहीलाई पक्राउ गरेको छ। शाहीलाई बिहीबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका शाहीमाथि पीडित रिता केसीले जाहेरी दर्ता गरेकी हुन्।
जाहेरी अनुसार उनीमाथि नाबालिका अवस्थामै रहस्यमय ढंगले बुबा र आमाको मृत्युु पश्चात आफन्तबाट बेपत्ता पारिएको र ललितपुर स्थित अवैध रुपमा संचालित ग्रेसहोम नामक बालगृहमा छाडेर भागेका र पछि सरकारले अवैध बालगृहहरुमा छापा पारेर उद्दार गर्ने क्रममा छापा रिता र उनका भाईलाई सुनसरी इटहरीको एसओएस बालग्राममा राखिएको आरोप छ।
जाहेरीमा उल्लेख भए अनुसार, रिता केसी आफ्ना आमा,बुबा, दिदी र भाइसँग काठमाडौं उपत्यकामा बसोबास गर्दै आएकी थिइन्। एकदिन उनका आमा बुबाको मृत्यु भएको खबर सुनाएर उनी र उनका भाइ र दिदीलाई पुरिन्द्र शाहीले ‘भान्जा–भान्जी’ भन्दै सधैंजसो आवतजावत गर्दै आएको अवस्थामा जबरजस्ती आफ्नो साथमा राखी अवैध बालगृहमा पठाएको उल्लेख छ।
पीडितका अनुसार, पुरिन्द्र बहादुर शाहीले आमाबुबाको मृत्युको विषयमा केही जानकारी नदिई संरक्षकको अनुमतिबिना आफू, दिदी सीता केसी र भाइ प्रकाश केसीलाई घरबाट अलग गरी दिदि सीता केसिलाइ हराएको र आफू र भाइलाइ सङ्गै ग्रेसहोममा राखेको आरोप लगाइएको छ। शाहीको स्थायी ठेगाना बाजुरा जिल्लाको स्वामीकार्तिक गाउँपालिका वडा नम्बर ५ जेरा गाउँ भए पनि हाल ललितपुर उपमहानगरपालिका वडा नम्बर २, ढुंगेधारा सानेपामा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ परेकाे प्रहरीको भनाइ छ।
जिल्ला अदालत ललितपुरमा अनुसन्धानका लागि शाहीको म्याद थप भइसकेको छ र हाल उनी प्रहरी हिरासतमा छन्। प्रकरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।