महत्वपूर्ण संरचना सुरक्षाको जिम्मा सेनालाई दिएर प्रहरीलाई सीमा सुरक्षामा पठाउने निर्णय

काठमाडौं – सरकारले कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचना सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाउने भएको छ ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा गृहमन्त्रालयमा बसेको बैठकमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सीमा नाकामा खटाउने निर्णय भएको हो ।

यसअघि निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा खटाउने गरिएको थियो । त्यही नजीरको आधारमा अहिले प्रहरीलाई सीमानामा खटाउन लागिएको एक अधिकारीले जानकारी दिए ।

बैठकमा गृहमन्त्री बादलले कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

थापाले सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए ।

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी प्रभुराम शर्मा लगायतको उपस्थिति थियो । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्