विश्वभरी कोरोनाबाट ५५ जना पत्रकारको मृत्यु, कुन देशमा कति ?

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिएको गत दुई महिनाको अवधिमा विश्वभर कोभिड–१९ बाट दर्जनौं पत्रकारको मृत्यु भएको प्रेस स्वतन्त्रताका लागि सक्रिय एक संगठनले बताएको छ ।

प्रेस एम्बलम क्याम्पियन नाम गरेको प्रेस अभियान संस्थाका अनुसार मार्च १ पछि विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीको कोरोना संक्रमण भएर मृत्यु भएको तथ्याङ्क छ ।

पत्रकार बढी प्रभावित बन्ने मुलुकमा इक्वेडर अग्रस्थानमा रहेको छ जहाँ कम्तिमा नौ जना पत्रकारको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः तीन जना पत्रकारको कोरोना सङ्क्रमण भएर मृत्यु भएको पुष्टि भएको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार सञ्चारकर्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव देखिएको छ ।

आइतवार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको पुर्व सन्ध्यामा प्रेस अभियानले जारी गरेको प्रतिवेदनमा धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार सङ्कलन गर्नुपर्दा सङ्क्रमित हुनु परेको बताएको छ ।

पत्रकारहरूले समाचार सङ्कलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्