मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर उद्योग सञ्चालन गर्न दिने निर्णय

कपिलवस्तु – लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा लकडाउन र त्यसले पारेको असरका विषयमा संघीय सांसद, प्रदेशसभा सदस्य, व्यापारी, निर्माण प्यवसायी, सञ्चारकर्मी र सुरक्षा निकायका प्रमुखबीच छलफल भई सीमामा थप कडाइ र लकडाउनको पूर्ण पालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारका लागि प्रशासनले पास उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । “ बैठकमा संघ, प्र्रदेश र पालिकाले शुरुआत गरेको विकासनिर्माणका आयोजनालाई पनि निरन्तरता दिने निर्णय भएको छ ”, उनले भने ।

कपिलवस्तुका सांसदले लकडाउन लम्बिँदै जाँदा मजदूरको प्रयोग गरी जिल्लाका कृषि, विकासनिर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिएका थिए । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदै गएकाले भारतीय सीमा नाकालाई अझ कडाइ गरेर निगरानी बढाउनुुपर्नेमा सांसदहरुको जोड थियो ।

बैठकमा राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, अभिषेकप्रताप शाह र अतहरकमाल मुसलमान, प्रदेशसभा सदस्य विष्णु पन्थी, अर्जुन केसी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोताम, फैजिया खातुनलगायतले यहाँ हालसम्म कोरोना संक्रमण नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । यहाँ लकडाउन समयमा प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि ७०० पास जारी गरेको छ । रासस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्