लकडाउनमै झोलुङ्गे पुल निर्माण सम्पन्न, संसारकै लामो भएको दाबी

बागलुुङ – बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५ सय ६७ मिटर लामो छ ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले त्यसलाई पूर्ण रूपमा बन्द गरेर कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइएको थियो ।

रङ्गीचङ्गी बत्ती जडान गरिने उक्त पुल विसं २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको काम सकिएको र पुलको दायाँबायाँ विभिन्न रङका बत्ती जडानका लागि वायरिङको काम भइरहेको थानी÷बीएलटी÷हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल करिब नौ करोड २५ लाख रुपियाँमा सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले जानकारी दिए ।

झोलुङ्गे पुलको लठ्ठाबाहेक अन्य सामग्री खरिद तथा निर्माणका लागि छ करोड ९१ लाख रुपियाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको र कार्यालयले लठ्ठा खरिदका लागि दुई करोड १८ लाख र ल्याब टेस्ट तथा अन्य कामका लागि करिब १६ लाख रुपियाँ खर्च भएको नेपालले बताए ।

यस्तो प्रकृतिको पुल नेपालमा थुप्रै बने पनि यति लामो पुल पहिलोपटक निर्माण भएको नेपालको भनाइ छ । पुल १३८ मिटर अग्लो छ । त्यो पुल निर्माणपछि दुई जिल्लाका पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘सिङ्गल स्पान’ प्रकृतिका झोलुङ्गे पुलमध्ये यो संसारकै लामो पुल भएको उनले दाबी गरे । “अहिलेसम्म स्विट्जरल्यान्डमा रहेको ४९४ मिटर लामो पुललाई संसारकै लामो पुल भनिएको रहेछ, यो पुल निर्माण भएपछि सम्भवतः यो पुल संसारकै लामो पुल हुनसक्छ,” पौडेलले भने ।

गाेरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्