फ्रान्सले आगामी मे ११ बाट लकडाउन खुकुलो पार्ने

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण प्रभावित युरोपेली मुलुक मध्येको फ्रान्सले आगामी मे ११ बाट लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ ।

माध्यामिक विद्यालय र सार्वजनिक यातायात संचालन गर्ने तयारी गरेको फ्रान्सले अनिवार्य रुपमा फेस मास्कको प्रयोग गर्नुपर्ने व्यवस्था गरेको फ्रान्सेली प्रधानमन्त्री इदुवार्ड फिलिपले बताउनु भएको छ । लामो समयदेखि जारी लकडाउनका कारण बन्द भएका विद्यालयहरु विस्तारै किन्डरगार्टेन र प्राथमिक तहबाट संचालन गर्ने तयारी रहेको छ ।

११ वर्षदेखि १५ वर्षका नागरिकहरुले फेस मास्कको प्रयोग गर्ने अपेक्षा गरिएको छ । युरोपमा कोरोना संक्रमणबाट अति प्रभावित मुलुक स्पेनले पनि लकडाउन अन्त्य गर्ने योजना बनाएको छ । आगामी जुनको अन्त्यपछि मात्रै सामान्य अवस्थामा फर्कने अनुमान फ्रान्सेली प्रधानमन्त्री फिलिपको रहेको छ ।

आगामी मे ११ बाट अति आवश्यक बाहेकका पसलहरु पनि खुल्ला गर्न दिइने छ । तर बार र रेस्टुरेन्ट भने खोल्न दिइने छैन । सपिङ स्टोरहरुमा जाँदा मास्कको प्रयोग गर्नुपर्ने र कम्तीमा १ मिटरको सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

सर्वसाधारणलाई घरबाट बाहिर निस्कन प्रमाणपत्र देखाउनु पर्ने आवश्यकता पर्दैन तर १० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन भने निषेध गरिएको छ । साथै शिशु तथा बाल स्याहार गृह पनि खोल्न दिइने छ तर एउटा समूहमा १० जनाभन्दा बढी बालबालिका राख्न पाइनेछैन । युरोपमा कोरोना संक्रमणका कारण फ्रान्स, इटली, स्पेन र बेलायत सबैभन्दा प्रभावित छन् ।

फ्रान्समा हालसम्म कोभिड-१९ को संक्रमणका कारण २३ हजार ६ सय ६० जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या पनि १ लाख ७० हजारको हाराहारीमा रहेको छ । यसैगरी इटालीमा हालसम्म २७ हजार ३ सयभन्दा बढी कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

स्पेनमा पनि २३ हजार ८ सय बढीको मृत्यु भएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या पनि २१ हजार ६ सयभन्दा बढी रहेको छ । विश्वमा कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा प्रभावित छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण ५७ हजार मानिसको मृत्यु भइसकेको छ भने १० लाख बढी संक्रमित छन् । विश्वमा हालसम्म २ लाख १६ हजार ९ सयभन्दा बढीले कोभिड-१९का कारण ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या पनि ३१ लाख १३ हजार भन्दा बढी रहेका छन् ।- NTV

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्