भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’

काठमाडौं – कोभिड–१९ संक्रमित फेला परेपछि भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’ गरिएको छ ।

गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना संक्रमण पुष्टि भएपछि अन्य स्थानमा संक्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र सङ्खुवासभाबाट जिल्ला प्रवेश गर्ने सबै नाकामा थप कडाइका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

उनको यात्रा विवरणको आधारमा थप परीक्षण गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली पठाउन प्रदेश नं १ सरकारसँग अनुरोध गर्ने निर्णय भएको प्रजिअ पुरीले  बताए ।

युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनको सङ्गतमा रहेका २० जनाको पिसिआर गर्ने तयारी भइरहेको गाँउपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिए ।-NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्